logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भाडा लाग्न सकेन ‘सपिङ कम्प्लेक्स’, जिर्ण बन्दै


  • उज्यालो अभियान

लालबन्दी, ०६ जेठ – लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडि निर्माण गरिएको ‘सपिङ कम्प्लेक्स’ प्रयोगविहीन बनेको छ ।

लालबन्दी नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि ‘सपिङ कम्प्लेक्स’ भाडा लाग्न सकेको छैन् । भाडा नलाग्दा ‘सपिङ कम्प्लेक्स’ बेवारिसे बनेको हो ।

लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले ठेक्का लाग्न नसक्दा ‘सपिङ कम्प्लेक्स’ संरक्षणविहीन बनेको बताए । “सँधै कुरेर बस्न सकिने अवस्था छैन, संरक्षण नहुँदा भवनको झ्यालका सिसा फुटेर गइरहेका छन्,” वडाध्यक्ष कार्कीले उज्यालो अभियानसँग भने “ठेक्का लागे संरक्षण हुन्थ्यो नत्र अहिले त संरक्षणविहीनको अवस्थामा छ ।”

लालबन्दी नगरपालिकाले नगर विकास कोषको ऋण सहयोगमा व्यावसायिक प्रयोजनको उद्देश्यले ‘सपिङ कम्प्लेक्स’ निर्माण गरेको हो । छ करोड ४१ लाख ६० हजार ३६२ रुपियाँ २९ पैसामा २०७६ सालमा ठेक्का लागेको भवन निर्माणको काम केही समयअघि नै सम्पन्न भएको थियो ।

निर्माण व्यवसायीले भवनमा लिफ्ट राख्नेसहितका काम भने भर्खरै सम्पन्न गरेका छन् । निर्माण पूरा गरी व्यापार व्यवसायका लागि तयार रहेको आधूनिक ढङ्गको ‘सपिङ कम्प्लेक्स’ भाडामा नलाग्दा लामो समयदेखि प्रयोगविहीन बन्न पुगेको हो ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले ‘सपिङ कम्प्लेक्स’ भाडामा लगाउन अब तेस्रो पटकको अन्तिम सूचना निकाल्ने तयारी गरिएको बताए । “नगरपालिकाबाट पहिलो र दोस्रो सूचना तीन पटकसम्म निकालिसकेका छौँ, अब तेस्रो पटकको पनि तेस्रो सूचना निकाल्न लाग्दैछौँ,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उज्यालोसँगको कुराकानीमा भने “अहिलेसम्म पटकपटक सूचना निकाल्दा पनि भवन भाडा लाग्न सकेको छैन् ।”

नगरपालिकाले पहिलो पटक छ लाख, दोस्रो पटक साँढे चार लाख र तेस्रो पटक तीन लाख १५ हजार रुपियाँ भाडा तोकेर सूचना जारी गरेको छ ।