
नाढीमन, ०५ जेठ – नेपाली सेनाले आज सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा आयोजना गरेको स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित भएका छन् ।

नवलपुरस्थित भैरवीदल गण पाँचकुमारी ब्यारेकको पहलमा नेपाली सेनाकै फिल्ड अस्पताल बर्दिवासले गाउँपालिका र विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरी आज साँझसम्म आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा ७०८ जनाले सेवा लिएका हुन् । सबैभन्दा धेरै बालरोग विभाग अन्तर्गत २३८ जना बालबालिकाको उपचार गरिएको छ ।

यस्तै हाडर्जोनी तथा नशा रोगका ८० जना, दन्त रोगका ८५ जना, नाक, कान, घाँटीका ७० जना, सुगरका १३ जना, नसा तथा मनोरोग ओपिडीका ७ जना, स्त्री रोगका ८० र आँखाको समस्या भएका ५५ जनाको उपचार गरिएको छ । ५५ जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।


शिविरमा आएकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित औषधी पनि वितरण गरिएको भैरवीदल गणका निमित्त गणपति एवं सेनानी पवन विष्टले उज्यालो अभियानसँग बताए ।