logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

निषेधित औषधि बिक्री गर्ने औषधि पसल शिल


  • उज्यालो अभियान

हरिवन, २४ बैशाख – सर्लाहीको हरिवनमा निषेधित औषधि बिक्री गर्ने औषधि पसल शिल गरिएको छ ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्ज र इलाका प्रहरी कार्यालय हरिवनको अनुगमन टोलीले दर्ता नभएको, निषेधित औषधि बिक्री गरेको, औषधि बेच्ने लाइसेन्स प्राप्त व्यक्ति पसलमा नभएको, औषधि खरिद–बिक्रीको बिल भर्पाई नभएको जस्ता समस्या देखिएका औषधि पसल शिल गरेको हो । हरिवन नगरपालिका–११, स्थित बजारमा रहेको न्यू कुशवाहा मेडिकल हलमा सरकारले निषेध गरेको औषधि सन्चय गरेर राखेको भेटिएको र औषधि खरिद गरेको बिल नभेटिएपछि सो औषधि पसल शिल गरिएको छ ।

त्यस्तै हरिवन ११ मै रहेको कुशवाहा मेडिसिन्स फर्मामा पनि निषेधित औषधि सन्चय गरेर राखेको पाइएको अनुगमन टोलीले जनाएको छ । सो औषधि पसलमा तत्कालै ताल्चा लगाइएको औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी अधिकृत अरविन्द बनियाँले उज्यालो अभियानसँग बताए ।

बनियाँका अनुसार हरिवन नगरपालिका–९, नयाँरोडमा रहेको नयाँरोड सिटी हेल्थ केयर हस्पिटल प्रा.लि. मा अनुमति नै नलिइ औषधि पसल संचालन गरेको पाइएको छ । सो औषधि पसललाई पनि तत्कालै शिल गरिएको छ ।

त्नयाँरोडको यस अस्पतालले यसअघि अनुगमनका क्रममा कारवाही गर्दा एउटा औषधि पसलको अनुमति लिएपनि अहिले फेरि अनुमती नै नलिएर अर्को औषधि पसल सन्चालन गरिरहेको पाइएको छ । यि तीनवटै औषधि पसललाई तत्कालै पत्र काटेर वीरगन्जस्थित कार्यालयमा बोलाइएको फार्मेसी अधिकृत बनियाँले बताएका छन् । कार्यालयले आवश्यक कागजात संकलन र सन्चालकको बयान लिएपछि कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

हरिवनका औषधि पसलमा यस प्रकारको लापरवाही भइरहेको गुनासो बढ्दै गएको थियो । प्राप्त गुनासो अनुसार औषधि व्यवस्था विभागसँग समन्वय गरी आकस्मिक रुपमा औषधि पसलको अनुगमन गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले उज्यालो अभियानसँग बताएका छन् ।

अनुगमन टोलीले हिजो दिउँसो यि तीनवटा पसलको अनुगमन गरिरहँदा हरिवन र नयाँरोड बजार क्षेत्रका अन्य औषधि पसल भने बन्द गरेर सन्चालकहरु फरार भएका छन् ।