लालबन्दी, २० बैशाख – सर्लाहीको लालबन्दी नगरपालिकाले किसानलाई जैविक मल र जैविक विषादी बनाउने तालिम प्रदान गरेको छ ।
नगरभित्र पछिल्लो समय खेतबारीमा अत्यधिक मात्रामा रासायनिक विषादीको प्रयोग बढेकाले त्यसलाई निरुत्साहित गरी जैविक मल र जैविक विषादी प्रयोग गरी रोग, कीरा नियन्त्रण गर्ने उद्देश्यले किसानलाई तालिम प्रदान गरिएको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख एवं कृषि अधिकृत गोकर्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगरभित्रका १७ वटा वडाबाट दुई–दुई जना किसानलाई सहभागी गराएर तीन दिन (हिजो) सम्म जैविक मल र जैविक विषादी बनाउन सिकाइएको हो ।
किसानलाई तेलबाली अनुसन्धान कार्यक्रम नवलपुरका प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदी र लालबन्दी नगरपालिकाको कृषि शाखाका प्राविधिकहरु भएर तालिम प्रदान गरेका हुन् । तालिममा सहभागी लालबन्दी नगरपालिका–१०, का किसान रमेश भुजेलले तालिममा सिकाइए अनुसार खेतबारीमा जैविक मल र विषादीको प्रयोग गर्न सुरु गर्ने बताए ।
लालबन्दी नगरपािलकाभित्र अधिकांश किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्छन् । पछिल्लो समय तरकारीमा जथाभावी व्यापक मात्रामा रासायनिक विषादीको प्रयोग बढेकाले त्यसलाई कम गर्न प्रत्येक वडाबाट दुई जना किसानलाई सहभागी गराएर जैविक विषादीको प्रयोगमा प्रोत्साहन गरिएको कृषि अधिकृत पौडेलले बताए ।
तालिममा सहभागी किसानलाई हिजो प्रमाण–पत्र वितरण गर्दै लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको बढ्दो रासायनिक विषादीको प्रयोगलाई क्रमिकरुपमा कम गर्दै जैविक विषादीको प्रयोग गरेर माटो र मानिसको जीवन जोगाउन किसानसँग आग्रह गरेका छन् ।