मलंगवा, १४ बैशाख – आजबाट सर्लाहीसहित देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ ।
कक्षा १२ को परीक्षा दिन सर्लाहीमा ७ हजार ३३० जना परीक्षार्थीले फारम भरेका शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए । उनका अनुसार परीक्षा संचालनका लागि जिल्लाभर २७ वटा सामुदायिक र एउटा संस्थागत गरी २८ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लामा ६२ वटा सामुदायिक, २३ वटा संस्थागत र ३ वटा क्याम्पस गरी ८८ वटा शैक्षिक संस्थाहरुबाट परीक्षार्थी कक्षा १२ को परीक्षामा सामेल भएका छन् । परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निमित्त इकाइ प्रमुखको नेतृत्वमा अनुगमन टोली परिचालन हुने प्राविधिक सहायक कुशवाहाले बताए । आजबाट सुरु भएको परीक्षा २६ गतेसम्म संचालन हुने छ ।
यसैबिच, यसवर्ष कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुन फाराम भरेका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् ।
देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी बताए ।
सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ–मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित स्यान्डम प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।
यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।