हरिवन, १३ बैशाख – सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्रका तीनवटा विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट सुरुमा तीनवटा माध्यमिक विद्यालयमा एक/एक थान स्मार्ट बोर्ड जडान गरिएको हो । पहिलो चरणमा हरिवन २ अत्रौलीमा रहेको रामअवतार जनता माध्यमिक विद्यालय, हरिवन ८ पुरानो बजारमा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालय र हरिवन १० सुखेपोखरीमा रहेको चतुर्र्भूजेश्वर जनता माध्यमिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरिएको हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईले जानकारी दिए । उनका अनुसार यि स्मार्ट बोर्ड तत्काल माथिल्लो कक्षाका विद्यार्थीलाई अध्यापन गराउन प्रयोग गरिने छ ।
स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने, भिडियो पनि देखाउने मिल्नेसहित निकै उपयोगी बहुविशेषता रहेकाले विद्यार्थीलाई बुझ्न र शिक्षकलाई पढाउन अत्यन्त सहज हुने शिक्षा शाखा प्रमुख चौलागाईले बताए । उनले नगरका अन्य विद्यालयमा पनि क्रमैसँग डिजिटल स्मार्ट बोर्ड जडान गरेर पठपाठन गराउने उद्देश्य रहेको बताए ।
डिजिटल स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको हिजो महादेव जनता नमूना माध्यमिक विद्यालय पुरानो बजारमा नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा उद्घाटन गरेका छन् । डिजिटल स्मार्ट बोर्डको शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, शिक्षा शाखा प्रमुख चौलागाई, अन्य कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।