लालबन्दी, ११ बैशाख – गर्मी बढेसँगै सडक किनार तथा बजारमा खरबुजा बिक्री गर्न बसेकाहरुले पहिले झैँ व्यापार नभएको गुनासो गरेका छन् ।
दिनानुदिन गर्मी बढिरहँदा सर्लाहीसहित तराईका जिल्लामा पूर्व–पश्चिम राजमार्गसहित अन्य प्रमुख सडकका किनार र मुख्य बजार क्षेत्रमा जताततै खरबुजा बिक्री गर्न राखेको देखिन्छ । यसको बिक्री भने सन्तोषजनक नरहेको व्यापारीको भनाई छ ।
लालबन्दी बजारस्थित राजमार्ग किनारमा खरबुजा बेच्न बस्नुभएका अशोक कुमार साहुले यो वर्ष खरबुजा बिक्रीबाट लगानी उठाउन समेत मुस्किल पर्ने अवस्था रहेको गुनासो गरे । उनले पहिला–पहिला दुई/तीन महिनामा खरबुजा बिक्रीबाट आफ्नो लगानी कटाएर ६०/७० हजार रुपियाँसम्म आम्दानी हुने गरेपनि यो वर्ष भने ७० हजार रुपियाँ लगानी गरेर खरबुजा बिक्री गर्न सुरु गरेपनि बिक्री नभएर लगानी नउठ्ने अवस्था रहेको बताए ।
मुख्यगरी चैत, वैशाख र जेठ तीन महिना खरबुजाको बिक्री हुन्छ । यहाँ चितवन तथा पूर्वका विभिन्न जिल्लाबाट खरबुजा ल्याएर बिक्री गर्ने गरिएको छ ।
लालबन्दी बजारमै खरबुजा बिक्री गर्न बसेका विनोदकुमार साह कानुले आउने ठाउँबाटै खरबुजा महँगो मूल्यमा आउँदा महँगोमै बिक्री गर्नुपरेको बताए । ८० हजार रुपियाँ लगानी गरेर खरबुजा बिक्री गर्न बस्नुभएका कानुले पनि लगानी उठाउन गाह्रो पर्ने अवस्था आएको दुःखेसो पोखे ।
कानुका अनुसार विभिन्न जिल्लाबाट ३५/३६ रुपियाँ प्रतिकेजी किनेर ल्याउने गरिएको खरबुजा ढुवानीसहित लगानी उठाउन यहाँ ल्याएर ५० देखि ६० रुपियाँसम्ममा बिक्री गर्ने गरिएको छ ।