बरहथवा, ३ बैशाख – सर्लाहीमा यो वर्ष चैते धान खेती बढेको छ ।
कृषि ज्ञान केन्द्र मलङ्गवाका अनुसार बिचमा केही वर्ष चैते धान खेती घटेपनि अहिले फेरि यसको खेती विस्तार हुन थालेको हो । कार्यालयका निमित्त प्रमुख देवानन्द रायले बोरिङ र पप्पसेटबाट सिँचाई सुविधा पुग्न थालेपछि चैते धान खेती गर्ने किसान बढेका जानकारी दिए ।
“सिँचाई अभावमा चैते धान खेती कम हुँदै गइरहेको थियो तर अहिले किसान आफैले व्यक्तिगत खर्च तथा पालिकाको सहयोगमा बोरिङ गाडिएपछि खेती वृद्धि भएको छ,” कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रायले उज्यालो अभियानसँग भने, “पानी उपलब्ध भएपछि नयाँ फाँटहरुमा पनि चैते धान लगाउन थालिएको छ ।” सर्लाहीमा ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
कार्यालयका निमित्त प्रमुख रायका अनुसार जिल्लामा अधिकांश किसानले चैते धान रोपिसकेका छन् । अब एक साताभित्र बाँकी भएका किसानले भने चैते धान रोपिसक्ने कार्यालयले जनाएको छ ।
बाह्रै महिना सिँचाई सुविधा उपलब्ध भए जिल्लामा चैते धान खेती अझ बढ्न सक्ने किसानले बताएका छन् । सिँचाई सुविधा रहेको र बोरिङ तथा पप्पसेट चल्ने भक्तिपुर, चक्रघट्टा, हरिपूर्वा, बरहथवा, लालबन्दी, हरिपुरलगायत क्षेत्रमा चैते धान खेती हुने गरेको छ ।
जिल्लाका अधिकांश किसानले चैते धानका रुपमा चैते ५ र हर्दिनाथ १ लगाउने गरेका छन् । किसानले चैते धान रोप्नका लागि मलखाद र मजदुरको अभाव झेल्नु परेको गुनासो गरेका छन् ।
हरिपूर्वा नगरपालिका–५ का किसान दिनेश रायले पछिल्लो समय खेतमा काम गर्नै मजदुर पाउन मुस्किल रहेको र हावापानीले पनि साथ दिन छाडेको गुनासो गरे ।
धान रोप्न खेत तयार पार्नका लागि ट्याक्टर सहजै पाइए पनि आलिभित्ता गर्ने र धान रोप्ने मजदुर पाउन मुस्किल पर्ने गरेको अधिकांश किसानले बताउने गरेका छन् ।