logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता : चन्द्रपुरलाई उपाधि


  • उज्यालो अभियान

बिजेता चन्द्रपुरलाई प्रथम ट्रफी प्रदान गरिँदै ।

जब्दी, १ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा आयोजित प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि ए एन प्लाजा चन्द्रपुर रौतहटले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक लालबन्दी राइजिङ क्लबलाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै चन्द्रपुरले प्रतियोगिताको उपाधि उचालेको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको चन्द्रपुरले २० ओभरमा ८ विकेट गुमाएर २२५ रन बनायो ।

२२६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको आयोजक लालबन्दी राइजिङ क्लबले १७.२ ओभरमा १० विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो ।

जितसँगै चन्द्रपुरले ७५ हजार ५०५ रुपियाँ नगदसहित प्रथम ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ ।

त्यस्तै उपबिजेता लालबन्दीले ३७ हजार ५०५ रुपियाँ नगदसहित प्रतियोगिताको दोस्रो ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, लालबन्दी ४ का वडाध्यक्ष सत्यदेव चौधरी, आयोजक क्लबका अध्यक्ष सन्तोष रौनियारलगायत भएर पुरस्कार वितरण गरेका छन् ।

समारोह समारोहका अतिथिसहित बिजेता र उपबिजेता दुवै टिमका खेलाडी ।

चैत १७ गतेबाट सुरु भएको यस प्रतियोगितामा २४ वटा टिम सहभागी भएका आयोजक क्लबका सचिव सुरज थापाले बताए ।