मलंगवा, २७ चैत – सर्लाही सदरमुकाम मलंगवामा आज(मंगलबार) बाट श्री श्री १ हजार ८ महाविष्णु महायज्ञ सुरु हुँदै छ ।
सदरमुकाम मलंगवा नगरपालिका-२ स्थित नेपाल-भारत सीमा दशगजा नजिकै जनसमुदाय मिलेर महायज्ञ आयोजना गरेका हुन् । महायज्ञ उद्घाटनका अवसरमा आज भव्य कलश यात्रा निकाल्ने तयारी गरिएको छ । कशल यात्रा तथा महायज्ञलाई लक्षित गर्दै सदरमुकाम मलंगवामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
मलंगवास्थित नगरपालिका कार्यालयले राष्ट्रिय झण्डा फहराएको स्थान नजिकै आयोजित महायज्ञमा भारतीय भक्तजनको समेत उल्लेख्य उपस्थिति रहने आयोजकका सुभाष गुप्ताले बताए । उनका अनुसार कलशयात्रा पश्चात आजै दिउँसो महायज्ञको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महायज्ञमा राम मनोहर दास, अशोक पाण्डे, नवल दास, विन्दा दासलगायतले प्रवचन दिने आयोजकले जनाएको छ । वैशाख ७ गतेसम्म संचालन हुने महायज्ञमा गौं कथा, रामलिला, सिताराम नाम जप लगायत हुने आयोजक समितिका संयोजक धिरेन्द्र मिश्रले जानकारी दिए ।