logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गोलभेँडाको सस बनाउन प्रविधि हस्तान्तण


  • उज्यालो अभियान

लालबन्दी, २६ चैत – सर्लाहीको लालबन्दीमा गोलभेँडाको सस (केचव) बनाउने तालिम लिएका ५३ जनालाई आज प्रविधि हस्तान्तरण गरिएको छ ।

केही साताअघि सस बनाउने तालिम लिएका ५३ जना महिला तथा पुरुषलाई व्यवसाय संचालनका लागि तीनवटा समूह बनाएर लघु, घरेलु तथा साना उद्योग केन्द्रको आर्थिक सहयोगमा मेसिन र औजार उपकरण प्रदान गरिएको हो । नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दी ८ का वडाध्यक्ष शुक्र पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायत भएर प्रविध हस्तान्तरण गरेका लालबन्दी नगरपालिकाको उद्यम विकास शाखाका वरिष्ठ उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए ।

लालबन्दी ६, १० र १६ मा राख्ने गरी तीनवटा समूहलाई गोलभेँडाको सस बनाउन र बनाएपछि प्याकिङ गरेर बजारसम्म पठाउन आवश्यक पर्ने एक/एक सेट मेसिन तथा औजार उपकरण प्रदान गरिएको छ । नगरप्रमुख बासुदेव अधिकारीले गोलभेँडाको सहर भनेर चिनिने र गोलभेँडा पनि अत्यधिक उत्पादन हुने यस ठाउँमा अब ५३ जनाले तालिममा सिके अनुसार सस उत्पादन गरेर लालबन्दीलाई ससका लागि पनि प्रख्यात बनाउने विश्वास व्यक्त गरे । उनले सस उत्पादन गर्ने व्यवसाय सन्चालनका लागि नगरपालिकाले पनि सहयोग गर्ने वचन दिएका छन् ।

तीनवटा समूहका संयोजक पद्म बहादुर श्रेष्ठ, खड्ग बहादुर श्रेष्ठ र सीतामाया योन्जनले आफूहरु अब सस उत्पादन गरेर व्यवसायमा लाग्न उत्साहित रहेको बताए ।

प्रविधि हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिकाका योजना शाखा प्रमुख रुपेश चौलागाईं, राजस्व शाखा प्रमुख गोपाल थापा, वरिष्ठ उद्यम विकास सहजकर्ता द्वय रमेश घिमिरे र समिर सुवेदीलगायतको उपस्थिति रहेको थियो ।