
पीडित परिवारलाई राहत प्रदान गर्दै बसबरियाका अध्यक्ष रामसिंहासन राय ।
बरहथवा, २६ चैत – जिल्लाको दक्षिणी भेगस्थित बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित मुसहर बस्तीमा आइतबार मध्यान्ह आगलागी हुँदा पाँचवटा घर पूर्णरुपमा जलेका छन् ।
आगलागीमा परेर रामविश्वास राम, दिनेश माझी, विन्देश्वर माझी, नरेश राय र जोखी मुखियाको घर जलेर नष्ट भएका हुन् । यि पाँच परिवारको घरसहित घरभित्रका कुनै पनि सामग्री बाँकी रहेनन् ।
पाँच परिवारको शरीरमा लगाएको लुगाबाहेक अन्य सम्पूर्ण सरसामग्री आगलागीमा परेर खरानी भएको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले उज्यालो अभियानसँग बताए । गाउँपालिकाले यि पाँच परिवारलाई तत्कालै राहत दिएको छ । गाउँपालिकाको राहत कोषबाट पाँच परिवारलाई जनही ११ हजार रुपैयाँ नगदसहित एक थान त्रिपाल, कपडा, पाँच दिनलाई पुग्ने चामल, दाल, नुन, तेल र मरमसला प्रदान गरिएको हो ।
आगलागीबाट स्थानीय किशोरी मुखिया, राशनारायण माझी, हर्नु माझी, मिश्री माझी, महेशी राय र सीता माझीको घरमा आंशिक्ष क्षति पुगेको गाउँपालिका अध्यक्ष रायले बताए । आज मध्यान्ह साँढे ११ बजेदेखि सुरु भएको आगलागी स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले प्रारम्भिक विवरण अनुसार गरिब बस्तीमा भएको आगलागीबाट २६ लाख रुपैयाँ बराबरको भएको क्षति भएको बताए ।