logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खेलाडी छनौट कार्यको मन्त्री श्रेष्ठद्वारा निरीक्षण


  • उज्यालो अभियान

बागमती, २५ चैत – सर्लाहीको बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा सुरु भएको यू–१३ अर्थात १३ वर्षमुनिको खेलाडी छनौट कार्यको संघीय सरकारका खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले निरीक्षण गरेका छन् ।

मन्त्री श्रेष्ठले गएसाँझ मैदानमै आएर खेलाडी छनौट कार्यको निरीक्षण गरेका बागमती यूवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । बागमतीको सो मैदानमा हिजोबाट मात्रै मधेश प्रदेश स्तरीय १३ वर्षमुनिको फुटबल खेलाडी छनौट कार्यक्रम सुरु भएको हो ।

खेलकुद मन्त्री श्रेष्ठ, संघीय सांसद मनिष झासहितले खेलाडी छनौट तथा बागमतीमा आयोजना हुने राजर्षि जनक कपबारे जानकारी लिएका छन् । यो वर्ष आर्थिक अभावले गर्दा अहिलेसम्म राजर्षि जनक कप हुन सकेको छैन् ।

यसबारे पनि मन्त्री श्रेष्ठलाई बागमती यूवा क्लबका अध्यक्ष मैनालीले अवगत गराएका छन् । सर्लाहीमा फुटबलको अवस्थाबारे सर्लाही जिल्ला फुटबल संघका उपाध्यक्ष विभुसिंह थापा, प्रशिक्षक श्याम कटुवाललगायतले अवगत गराएका छन् ।

लालबन्दीस्थित फुटबल मैदान स्तरोन्नतिका लागि केही साताअघि जोतेर राखिएकाले मधेश प्रदेश स्तरीय खेलाडी छनौट कार्यक्रम बागमतीमा भइरहेको छ ।