logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पौने २८ लाख सहित २ जना पक्राउ : हुण्डी कारोबारीको आशंका


  • उज्यालो अभियान

नगद सहित पक्राउ परेका दुईजना । (तस्बिर : जिल्ला प्रहरी कार्यालय मलंगवा)

मलंगवा, १९ चैत – स्रोत नखुलेको पौने २८ लाख नगद सहित जिल्ला प्रहरी कार्यालय मलंगवाको टोलीले दुईजनालाई पक्राउ गरेको छ ।

मलंगवा नगरपालिका-३ निवासी २४ बर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारीलाई २७ लाख ७५ हजार ९७० रुपैंया सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । हुण्डी कारोबार भईरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको टोलीले आईतबार दिउँसो मलंगवा नगरपालिका-९ स्थित सडकखण्डमा शंकास्पद अवस्थामा कालो रंडको झोला पिठ्यूमा बोकेर हिँडेका राजालाई नियन्त्रणमा लिई उनको झोला चेक गर्दा एक हजार दरको एक हजार थान नेपाली नोट १० लाख रुपैंया बरामद् भएको प्रहरीले जनाएको छ । राजाको साथबाट लक्ष्मी सनराईज बैंक लिमिटेडमा ९ लाख ९० हजार रुपैंया जम्मा गर्ने २ वटा भौचर समेत फेला परेको र उक्त जम्मा गर्ने रकमको स्रोत खुलाउन नसकेको प्रहरीको दाबी छ ।

एसपी ज्ञवालीका अनुसार राजाले उक्त रकम अंसारीले संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको भनेपछि प्रहरी टोली मलंगवा-९ स्थित उक्त पसलमा पुगेको थियो । पसल भित्र खानतलासी गर्दा र्याकको भित्र रहेको खैरो रंगको झोला भित्र कालो प्लाष्टीकले बेरेको अवस्थामा एक हजार दरको एक हजार ४५४ थान, ५०० दरका ६२२ थान, १०० दरको १०९ थान, ५० र २० दरको एक–एक थान नेपाली नोट गरी जम्मा १७ लाख ७५ हजार ९७० रुपैंया बरामद गरीएको प्रहरीले जनाएको छ ।

पसल संचालक अंसारी लालबन्दी बजार स्थित आफ्नो अर्को पसलमा रहेको खबर पाएपछि उनलाई समेत तत्काल पक्राउ गरीएको एसपी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार बरामद रकम हुण्डी कारोबारमा प्रयोग हुन सक्ने भएकोले त्यसतर्फ तथा अंसारी अन्य विभिन्न अवैध कारोबारमा समेत संलग्न रहेको हुनसक्ने सूचनाहरु प्राप्त भईरहेकोले थप अनुसन्धान भइरहेको छ ।