उद्घाटन खेलमा बिजेता बर्दिवासको टिम ।
लालबन्दी, १८ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी र उपमेयर कल्पनामाया पाख्रिनले हिजो संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल लामा, लालबन्दी नगरपालिकाका वडाध्यक्षहरु वुद्धदेव चौधरी, कृष्णकुमार कार्की, गणेशबहादुर थापा, विष्णु अधिकारी, जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापालगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको उद्घाटनमा उपस्थिति मेयर, उपमेयरसहितका अतिथि र आयोजकका पदाधिकारी ।
लालबन्दी राइजिङ्ग क्लबले आयोजना गरेको प्रतियोगितामा २० वटा क्लबले सहभागिता जनाएका छ । १० दिनसम्म आयोजना हुने प्रतियोगिताको बिजेताले ७५ हजार ५०५ रुपैयाँ र उपबिजेताले ३७ हजार ५०५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका सचिव सुरज थापाले बताए ।
थापाका अनुसार टि–ट्वान्टी र्फम्याटमा खेलाइने प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा बर्दिवास नगरपालिका बिजयी भएको छ । फूलजोर यूथ क्लब बयलवासको टिमलाई ४ विकेटले पराजित गर्दै बर्दिवास नगरपालिकाले सुःखद सुरुवात गरेको हो ।
फूलजोरले दिएको १९८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको बर्दिवासले १७.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।