बयलवास, चैत १७ – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा आजबाट मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
सर्लाही लोकतान्त्रिक खेलकुद संघको आयोजनामा रामपुरस्थित फूलजोर खोला किनारमा रहेको चौरमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको आज मध्यान्ह नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले उद्घाटन गर्दै हुनुहुन्छ । चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा आयोजक सर्लाहीसहित सी स्टार सी चपुर, नव जनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाइटेड, महोत्तरीको जनसेवी युवा क्लब, बेंगखाडी युवा क्लब तथा बर्दिवास नगरपालिका र सिरहा ११ ले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक लोकतान्त्रिक खेलकुद संघ सर्लाहीका अध्यक्ष रोजित केसीले जानकारी दिए । केसीका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
प्रतियोगितामा सम्पूर्ण खेल तीन जना महिला रेफ्रीले खेलाउने छन् । महिला रेफ्री राधिका शाक्य, माया लामा र उमा श्रेष्ठले खेल खेलाउने आयोजकले जनाएको छ ।