logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा आज पनि दुई जना निरीक्षक कारवाहीमा


  • उज्यालो अभियान

एसइइ दिँदै गरेका विद्यार्थी । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, चैत १६ – माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सर्लाहीमा आज दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा पनि दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

अनुगमनकाक्रममा कक्षाकोठाभित्र परीक्षाको मर्यादा विपरीत गतिविधि भएको पाइएपछि चक्र जनता शहीद गङ्गा माध्यमिक विद्यालय बरहथवा नगरपालिका ५ परीक्षा केन्द्रमा सुनिलकुमार दत्त र सरस्वती माध्यमिक विद्यालय बरहथवा नगरपालिका ३ हजरिया परीक्षा केन्द्रमा रामदेव भारतीलाई निरीक्षकको जिम्मेवारीबाट हटाइएको हो ।

सर्लाहीमा यसअघि हिजो पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा बलरा र गोडैता नगरपालिकाको छवटा परीक्षा केन्द्रका १० जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको थियो । एसइईमा आज दोस्रो दिन सर्लाहीका ३८ वटा परीक्षा केन्द्रबाट १० हजार ७५९ परीक्षार्थी सहभागी भएका छन् । १३७ जना परीक्षार्थी भने अनुपस्थित भए ।

शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जिल्लाका ३८ वटै परीक्षा केन्द्रमा दोस्रो दिनसम्म शान्तपूर्णरुपमा परीक्षा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख रामवृक्ष महतोको नेतृत्वमा तीनवटा अनुगमन टोली परिचालित भएको छ ।