घुर्कौली, ११ चैत – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलासहितका सुरक्षा अधिकारीहरु र जिल्लाका पत्रकारलगायतले आज घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहमा फागु पूर्णिमा अर्थात् होली पर्व मनाएका छन् ।
उनीहरुले बालगृहमा आश्रय दिएर राखिएका अभिभावकविहीन बालबालिकासँगै रङ्ग दलेर खुसी साटासाट गरी फागु खेलेका हुन् । बाल गृह संचालन गरिरहेको चेतना सन्देश नेपाल हरिवन ५ घुर्कौलीको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको संयोजनामा होलीको शुभकामना आदानप्रदानसहित कार्यक्रम गरिएको हो ।
कार्यक्रममा संविधानसभा सदस्य एवं समाजसेवी नरेन्द्र साह, प्रदेश सभा सदस्य बेची लुंगेली, प्रमुख जिल्ला अधिकारी धमला, भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, बाल गृहका अध्यक्ष सुरेन्द्र लामा, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बीचमै संविधानसभा सदस्य साहले बालबालिकालाई अध्यनका लागि कपी प्रदान गरेका थिए । जिल्लाका पत्रकारले वर्षेनि द्वन्द्वपीडित बालगृहमा पुगेर त्यहाँ आश्रय दिएर राखिएका बालबालिकासँगै रंग, अविर लगाएर खुसी साटासाट गर्दै होली मनाउने गरेका छन् ।