logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका प्रदिप भट्टराई निर्देशित ‘महाजात्रा’ आजबाट ४० देशका सिनेमाहलमा


  • उज्यालो अभियान

लेखक/निर्देशक प्रदिप भट्टराई ।

हरिवन, ०९ चैत – सर्लाहीको हरिवन निवासी प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र ‘महाजात्रा’ आज(शुक्रबार) बाट नेपाल सहित एकसाथ संसारका ४० देश स्थित सिनेमा हलहरुमा प्रदर्शनमा आएको छ ।

हरिवन नगरपालिका-८, चापिनी घर भई हाल कलिउड अर्थात नेपाली सिने क्षेत्रमा उदीयमान निर्देशकको रुपमा परिचय कमाएका भट्टराईको लेखन निर्देशन रहेको ‘जात्रा’को तेस्रो श्रृंखला हो चलचित्र ‘महाजात्रा’ । २०७३ सालमा रिलिज भएको ‘जात्रा’ बक्सअफिसमा सुपरडुपर हिट भएको थियो। जात्राको दोस्रो सिक्वेल ‘जात्रैजात्रा’ निर्देशन गरेका भट्टराई यो पटक महाजात्रा लिएर शुक्रबारदेखि बक्सअफिसमा उत्रिएका छन् ।

अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यसको परिस्थितिको कथामा आधारित अनि हाँसो र संवेदना मिश्रण गरिएको महाजात्रामा विपिन कार्की, रवीन्द्र झा र रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका रहेको छ । चलचित्रमा हरिवंश आचार्यसहित वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारहरुको पनि अभिनय रहेको छ। भट्टराई निर्देशित फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरेको हो । महाजात्रा सर्लाहीको हरिवन, लालबन्दी, बरहथवा लगायत स्थानका सिनेमा हलहरुमा पनि प्रदर्शनमा आएको छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह संचारले निर्माण गरेको ‘शत्रुगते’, ‘महापुरुष’ जस्ता नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा कमाएका फिल्म निर्देशन गरेका भट्टराई कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पिएन’ का निर्णायक समेत हुन् ।