logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

२१ दिनपछि खुले हरिपूर्वाका विद्यालय, एक महिनापछि नगरपालिका पनि संचालन


  • उज्यालो अभियान

हरिपूर्वा, २७ फागुन सर्लाहीको हरिपूर्वा नगरपालिकाभित्रका १६ वटै सामुदायिक विद्यालय आज २१ दिनपछि खुलेका छन् ।

नगर सभा हुन नसकेर गएको साउनदेखि तलब नपाएपछि नगरभित्रका सम्पूर्ण शिक्षकले फागुन ६ गतेदेखि विद्यालय नै बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका थिए । फागुन ७ गते बहुमतका आधारमा नगरसभाबाट बजेट पारित भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा कार्यालय प्रमुख नहुँदा नगरपालिकाको खाता सन्चालन हुन नसकेर शिक्षकले नगरसभापछि पनि तत्कालै तलब भने पाउन सकेनन । अब बल्ल कोलेनिकामा खाता खुलेको र केहीदिनभित्रै तलब निकासा गर्ने नगरप्रमुखले आश्वासन दिएपछि आन्दोलित शिक्षक धर्ना स्थगित गरेर विद्यालय खोली पठनपाठनमा फर्किएका हुन् ।

२१ दिनपछि विद्यालय खुल्दा विद्यार्थी र अभिभावक खुसी भएका छन् । झण्डै एक महिना विद्यालय बन्द हुँदा वार्षिक परीक्षा र एसइईको तयारीमा रहेका नगरभित्रका पाँच हजार बढी विद्यार्थी मारमा परे ।

आजबाट विद्यालय खुलेपछि शिक्षकले बाँकी पाठ सक्ने गरी अगाडि बढेका छन् । हरिपूर्वा नगरपालिका–९ स्थित रामजानकी माध्यमिक विद्यालय वसन्तपुरका प्रधानाध्यापक सन्तोषकुमार ठाकुरले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले अब तलब निकासा हुनेमा ढुक्क हुन र विद्यालय फर्किन आग्रह गरेपछि नियमित पठनपाठनमा फर्किएको उज्यालो अभियानसँग बताए ।

यस्तै हरिपूर्वामा ३१ औँ दिनमा आजबाट नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्था पनि खुलेका छन् । शिक्षक भन्दाअघि नै माघ २८ गतेबाट नगरपालिका र वडा कार्यालयका कर्मचारी तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी आ–आफ्नो कार्यालय बन्द गरेर धर्नामा बसेका थिए ।

तलब तत्काल निकासा हुने आश्वासनपछि आजबाट काममा फर्किए पनि साउनदेखि बजेट नचलेर मसलन्दसहित अन्य सम्पूर्ण सरसामग्री सकिएकाले काम गर्न अप्ठेरो परेको कर्मचारीले गुनासो गरेका छन् । बिजुलीको महशुल नर्तिदा वडा कार्यालयको बिजुली काटिएको छ ।

नगरप्रमुख विनोदकुमार साह तेलीले कोलेनिकामा खाता खुलेपछि लगातारजसो बिदा परिरहेको र बिदा सकिएर नियमित कार्यालय खुल्ने भएकाले पर्सी मङ्गलबारबाट प्रत्येक समस्याको निकास निस्कँदै जाने दावी गरेका छन् ।