लालबन्दी, २७ फागुन – ४० पदकसहित लालबन्दी नगरपालिकाले ११ औँ सर्लाही जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि उचालेको छ ।
लालबन्दी नगरपालिका ६ स्थित लेखाली चौरमा हिजो दिउँसो सम्पन्न प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र ७ कास्यसहित ४० पदक प्राप्त गरी लालबन्दी नगरपालिका पहिलो भएको हो । त्यस्तै, ११ स्वर्ण, १२ रजत र १७ कास्य सहित ४० पदक प्राप्त गरी ईश्वरपुर नगरपालिका दोस्रो र ५ स्वर्ण, १० रजत र १३ कास्यसहित २८ पदक प्राप्त गरी हरिपुर नगरपालिका तेस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समिति सर्लाहीले जनाएको छ ।
प्रतियोगितामा सर्लाहीका २० वटा पालिकामध्ये लालबन्दी, हरिपुर, ईश्वरपुर, हरिवन, बरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिका गरी ६ वटा पालिकाले मात्रै सहभागिता जनाएका थिए । धेरै पालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नै आयोजना गरेका छैनन् । प्रतियोगिता आयोजना गरेका केही पालिका पनि जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएनन् ।
बिजेता पालिकाका खेलाडीलाई लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, जिल्ला खेलकुद विकास समिति सर्लाहीका कार्यालय प्रमुख गोपाल लामालगायत भएर पुरस्कार वितरण गरेका शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।
जिल्ला स्तरीय प्रतियोगितामा पुरुष तथा महिलातर्फको विभिन्न खेल बिधामा पहिलो हुने खेलाडीले प्रदेश स्तरीय खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।