मलंगवा, २० फागुन – सर्लाही सदरमुकाम मलङ्गवामा बहुभाषिक रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।
बुढ्यौली साहित्य समाज सर्लाहीको आयोजनामा सदरमुकाम मलङ्गवा नगरपालिका ४ स्थित कुशवाहा धर्मशालामा आयोजित बाहुभाषिक रचनावाचन कार्यक्रममा स्थानीयसँगै मित्र राष्ट्र भारतका साहित्यकार समेत सहभागी भई आफ्नो रचनावाचन गरेका छन् ।
कार्यक्रममा नेपाली, बज्जिका र हिन्दी भाषामा विभिन्न साहित्यकारले आ–आफ्नो रचनावाचन गरेका बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीका अध्यक्ष लम्वोदर काफ्लेले जानकारी दिए । उनका अनुसार बुढ्यौली साहित्य समाजलाई फैलाउने र बुढ्यौली साहित्यको संरक्षण गर्ने उद्देश्यले सदरमुकाम मलङ्गवामा पहिलो पटक यस प्रकारको साहित्यिक कार्यक्रम गरिएको हो ।
काफ्लेकै अध्यक्षता तथा बुढ्यौली साहित्य समाजका अभियन्ता रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित रचनावाचन कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, उपसभापति जितेन्द्र कुशवाहा, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र कुशवाहा, सेवा निवृत्त प्रधानाध्यापक रामनिवास साहलगायलते शुभकामना मन्तव्यसहित आ–आफ्नो रचनावाचन गरेर सुनाएका कार्यक्रम संचालक तथा आयोजक बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीका सचिव किसुन दयालले बताए ।