बागमती, ११ फागुन – प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३, नयाँबस्ती चोकबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
गाँजाको ओसारपसार भइरहेको गोप्य सूचना पाएर जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको प्रहरी टोलीले नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत नयाँबस्ती चोकमा दक्षिणबाट उत्तरतर्फ आइरहेको प्रदेश ०१–०२६ च ५१५९ नम्वरको कारबाट ११६ केजी गाँजा बरामद गरेको हो । गाँजासहित कार चालक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–११, बस्ने ३० वर्षीय सूर्य परियारलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
परियारले कारको पछाडिपट्टी १० वटा पोकामा लुकाएर राखेको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । डीएसपी पञ्जियारले कार चालक परियारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताए ।