logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपूर्वामा आजबाट विद्यालय नखुल्ने, शिक्षकहरु कर्मचारीसँग धर्नामा मिसिँदै


  • उज्यालो अभियान

धर्नामा बसेका शिक्षक । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ६ फागुन – सर्लाहीको हरिपूर्वा नगरपालिकामा आजबाट सामुदायिक विद्यालयको पठनपाठन ठप्प हुँदै छ ।

गएको साउनदेखि तलब नपाएका शिक्षकले आजबाट दोस्रो पटक सम्पूर्ण विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना सुरु गर्न लागेका हुन् ।

हरिपूर्वाका शिक्षकहरु यसअघि पनि तलब माग गर्दै १३ दिनसम्म धर्नामा बसेपछि मेयरको आश्वासन पाएर विद्यालय खोलेर पठनपाठनमा फर्किएका थिए । तर महिनौँ बितिसक्दा पनि तलब पाउने छाँट नदेखिएपछि नगरभित्रका १६ वटै सामुदायिक विद्यालयका शिक्षक विद्यालय बन्द गरी नगरपालिकामा धर्ना बसिरहेका कर्मचारीसँग मिसिने भएका हुन् ।

विद्यालय बन्द हुँदा करिव ५ हजार विद्यार्थी पढाईबाट बन्चित हुने छन् । तलब, भत्ता नपाएपछि हरिपूर्वाका कर्मचारीहरु नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी बन्द गरेर गएको आइतबारदेखि नै धर्नामा छन् ।

राजनीतिक स्वार्थका कारण नगर सभा हुन नसकेर बजेट पारित हुन नसक्दा हरिपूर्वाका स्थानीयसँगै विद्यार्थी मारमा परेका छन् ।

यहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन् भने पठाएकालाई पनि टिक्न दिइएको छैन् ।

मुख्यत : यसै क्षेत्रका सांसद महिन्द्र राय यादव र मेयर विनोदकुमार साह तेलीबीच टसल देखिन्छ ।