logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हिउँदे बालीलाई सिँचाई अभाव, पानी नपर्दा किसान चिन्तित


  • उज्यालो अभियान

लालबन्दी, ५ फागुन – सर्लाहीका किसानलाई सिँचाईको समस्या बढ्न थालेको छ ।

आकाशे वर्षा नभएर खोला, खोल्सीमा पानी कम हुँदै गएसँगै गहुँ, मकै, लसुन, प्याजसहित अन्य हिउँदे बाली र तरकारी खेतीलाई सिँचाईको समस्या हुन थालेको हो । विशेष गरी आकाशे पानीको भर रहेको जिल्लाको उत्तरी भेगमा सिँचाईको समस्या बढेको किसानले गुनासो गरेका छन् ।

ईश्वरपुर नगरपालिका–४, सागरनाथका किसान धनिलाल महतोले सिँचाई समस्याले लसुन, प्याज जोगाउन पनि मुस्किल परेको गुनासो गरेका छन् । पछिल्ला वर्षहरुमा वर्षा नै कम हुन थालेपछि हिउँदे बाली लगाउन नसक्दा खेतबारी बाँझो बस्न थालेको उनले बताए । “लसुन, प्याजलाई आवश्यक पर्ने पानी त छैन्, अरु हिउँदे बाली त कहाँबाट लगाउन पाउनु,” महतोले भने,“ पानी कम पर्न थालेपछि खेती किसानी गरेर खानै मुस्किल पर्न थालिसक्यो ।”

जल शतह घट्दै जाँदा कतिपय ठाउँमा डिप बोरिङमा पानी आउन छाडेको छ । जिल्लाको बागमती, मनुष्मारासहितका सिँचाई आयोजनाका नहर तथा कुलोमा पानी कम हुँदै गइरहेका छन् । नहरमा पानी कम भएपछि किसानबीच पानी पटाउनकै लागि हानाथाप पर्न थालेको छ ।

हरिपुर नगरपालिका–७, चिताइनका किसान तेजेन्द्र चौधरीले पानीको अभावमा अधिकांश फाँट बाँझो बसेको बताए । “वर्षायाममै ठूलो पानी पर्न सकेन, हिउँद लागेपछि एक झर पानी पर्न सकेको छैन्,” चौधरीले भने, “पानी नै नपरेपछि हिउँदे बाली लगाउन र लगाएको पनि जोगाउन मुस्किल परेको छ ।”

पानी नभएर हिउँदे बाली लगाउन नपाउँदा यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बागमती क्षेत्रमा धेरैजसो किसानले खेत बाँझो राखेको पाइन्छ । कृषि ज्ञान केन्द्र मलङ्गवाले आकाशे पानीको भर रहेको र डिप बोरिङबाट पानी नआउने जिल्लाको उत्तरी भेगमा हिउँदयामभर सिँचाईको समस्या हुने गरेको जनाएको छ ।

निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बागमती र मनुष्मारा सिँचाई आयोजनाबाट सिँचित हुने क्षेत्रबाहेक अन्य भेगमा अब हिउँदभर पानीको अभाव नै हुने बताए । “सुक्खा क्षेत्रमा अब वर्षायाम सुरु नहुन्जेल सिँचाईको अभाव हुन्छ,” यादवले भने, “पछिल्ला वर्षहरुमा माघ÷फागुनमै सिँचाईको चरम समस्या देखिन थालेको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ७३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिव ४५ हजार हेक्टरमा मात्रै सिँचाईको सुविधा रहेको छ ।