प्रतिकात्मक तस्बिर ।
बसबरिया, ४ फागुन – सर्लाहीका फरक–फरक स्थानमा दुई जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार जिल्लाको बसबरिया र चक्रघट्टा गाउँपालिकामा दुई जना पुरुषको शव फेला परेको हो । बसबरिया गाउँपालिका–६, स्थित रामबाबा मन्दिर नजिक परालको टौवामा विष्णु गाउँपालिका–१, बेल्वा बस्ने ५५ वर्षीय रामसिकल हजारी मृत फेला परेको प्रहरीले जनाएको छ । हजारीको मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ ।
यस्तै चक्रघट्टा गाउँपालिका–८, औरहीस्थित भुर्गी पुल नजिकै नाम, ठेगाना खुल्न नसकेका वृद्ध मृत फेला परेका छन् । अन्दाजी ६५÷७० वर्षको जस्तो देखि तराई मुलको वृद्ध मृत फेला परेका हुन् ।
उनको परिचय खुलाउन सोधखोज भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
दुवै ठाउँको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।