गम्हरिया, ३ फागुन – नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका–११, गम्हरियामा दुईवटा भारतीय मोटरसाइकल जुध्दा एक किशोरको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका बीआर ३० डी ३५१८ र बीआर ०६ बीपी ४१७२ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा मलंगवा नगरपालिका–११, गम्हरिया बस्ने १५ वर्षीय विकास रायको ज्यान गएको हो । रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका १६ वर्षीय निरज पटेल र १७ वर्षीय रोशन पासवान गम्भीर घाइते भएका छन् । उनीहरु दुवैलाई वीरगन्ज रेफर गरिएको छ ।
दुर्घटनामा परेका मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।