पर्सा, २ फागुन – सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण गाउँपालिकाको कामकाज ठप्प भएको छ । आफूहरुले गाउँपालिकामा बुझ्न खोजेको विषयका सूचना नै नदिएको र माघ १२ गते बसेको कार्यपालिका बैठकको निर्णय समेत कार्यान्वयन नभएको भन्दै केही वडाध्यक्ष र कार्यपालिका सदस्यले मंगलबारदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पर्सा गाउँपालिका २ का वडाध्यक्ष राकेश रामले माघ १२ गते बसेको कार्यपालिका बैठकबाट पारित गरिएको १९ बुँदे प्रस्ताव कार्यान्वयन गर्न आलटाल गरेपछि बाध्य भइ तालाबन्दी गरिएको बताए । उनले गाउँपालिकाको योजना र सूचना प्रविधि शाखामा सूचना माग गर्न जाँदा पालिकाको गोपनियता भङ्ग हुने भन्दै सूचना नै नदिने परिपाटीविरुद्ध आफूहरुको असहमती रहेको जानकारी दिए ।
आन्दोलित जनप्रतिनिधिले अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को आय–व्यय सार्वजनिक गर्नुपर्ने, क–कस्ले कति पेश्की लिएका छन ? त्यो जानकारी दिनुपर्ने, बेरुजुबारे जानकारी दिनुपर्ने, जथाभावी कर्मचारी भर्ना कार्य रोक्नुपर्ने लगायतका माग अघि सारेका छन् । मंगलबार गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव (विस्पत) सहित भएको छलफलमा आफूहरुले उठाएका माग सम्वोधन हुने छाँट नदेखिएपछि तालाबन्दी गरेको वडाध्यक्ष रामले बताए ।
उनले गाउँपालिकाका १४ जना कार्यपालिका सदस्यमध्ये नौँ जना आन्दोलित भएको दावी गरेका छन् । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार यादवले भने विभिन्न शाखाका कर्मचारी हटाउनुपर्ने माग राख्दै समस्या सिर्जना गरिएको बताएका छन् ।
आन्दोलित पक्षबाट वन प्राविधिक राजेशप्रसाद यादव, प्रशासन, योजना तथा जिन्सी शाखाका नायब सुब्बा उपेन्द्र राय यादव र सूचना तथा संचार प्रविधि अधिकृत विमलेश रायलाई हटाउनुपर्ने माग आएको तर त्यो माग सम्वोधन गर्न नसकिने उनको भनाई छ । उनले गाउँपालिकामा भएको तालाबन्दीको विषयमा बुधबार सरस्वती पूजा परेकाले छलफल गर्न नभ्याइएको र बिहीबार नै छलफल गरेर समस्याको समाधान गर्न प्रयास गरिने बताए ।
यसैबीच, जिल्लाको हरिपूर्वा नगरपालिकामा विगत ४ दिनदेखि कर्मचारीको धर्ना जारी छ । नगर सभा नहुँदा गएको साउनदेखि तलब नपाएका नगरपालिका, वडा र स्वास्थ्य संस्थाका कर्मचारी तलब, भत्ता माग गर्दै गएको आइतबारदेखि कार्यालय बन्द गरेर नगरपालिका कार्यालयमा धर्नामा बसिरहेका छन् ।