हरिवन, १ फागुन – सर्लाहीको हरिवनमा १० वर्षीया एक बालिका आफ्नै बाबुबाट बलात्कृत भएको घटना बाहिरिएको छ ।
नाबालिक छोरीमाथि जवरजस्ती करणी गर्ने ३७ वर्षीय पुरुषलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । पीडक बाबुको नाम सार्वजनिक गर्दा पीडित बालिकाको समेत परिचय खुल्ने भएकाले नाम गोप्य नै राखिएको छ ।
ती पुरुषले आफ्नी छोरीलाई गएको कात्तिक ७ गते विजयादशमीको दिन आफ्नै घरमा जवरजस्ती करणी गरेका बुझिएको छ । भारतमा मजदुर गरेर दशैँ मनाउन घर आएपछि घटना घटाएपश्चात ती पुरुष काठमाडौँ गएर बस्दै आएका थिए ।
आफ्ना बाबु काठमाडौँबाट आएपछि आफूमाथि फेरि बलात्कार हुन सक्ने भन्दै बालिकाले गाउँ, समाजमा भन्न थालिन । गाउँलेले तत्कालै पीडित बालिकालाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याएर जाहेरी दिएपछि प्रहरीले पीडकलाई घर आउने बित्तिकै नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक गिरीले बताए । उनका अनुसार पीडित बालिकालाई सुरक्षित आश्रयका लागि सदरमुकाम मलङ्गवास्थित ‘सेफ हाउस’ मा राखिएको छ ।
प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेपनि उनीमा डर, त्रास देखिन्छ । बालिका घरमा हजुरबुवा, हजुरआमासँग बस्दै आएकी थिईन् ।
भारतमा बस्ने उनकी आमा र बाबुबीच राम्रो सम्वन्ध नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।