लालबन्दी, २९ माघ – मधेश प्रदेश सरकारको लगानीमा यो वर्ष पनि लालबन्दीमा दुई अतिविपन्न परिवारको घर निर्माण हुने भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्र निधी आवास योजनाबाट लालबन्दी १० का गणेश मिरिङचिङ र लालबन्दी ५ की मैतिदेवी पाख्रिनको परिवारका लागि प्रदेश सरकारले घर बनाइदिने भएको हो । प्रदेश सभा सदस्य बेची लुंगेलीको पहलमा दुई अतिविपन्न परिवारको पक्की घर निर्माण हुने भएको हो ।
दुवै घरको आज प्रदेशसभा सदस्य लुंगेली, नगर उप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दी ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल, लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठलगायत भएर शिलान्यास गरेका छन् । प्रदेश सभा सदस्य लुंगेलीको पहलमा यसअघि पनि लालबन्दीका केही अतिविपन्न र बेसहारा परिवारको घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो ।