हरिपूर्वा, २९ माघ – ७ महिनादेखि तलब, भत्ता नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले कार्यालय बन्द गरेर धर्ना सुरु गरेका छन् ।
नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीसहित नगरपालिका मातहत कार्यालयका कर्मचारी नगरपालिका कार्यालयमा धर्नामा बसेका हुन् । प्रमुख प्रशासकीय अधिकृतको अभाव र नगर सभा हुन नसक्दा सात महिनादेखि तलबविहीन रहेका हरिपूर्वा नगरपालिकाका कर्मचारीले माघ २६ गते नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका थिए ।
उनीहरुले गएको साउनदेखिको तलब, भत्ता यथाशीघ्र प्राप्त गर्ने वातावरण सिर्जना गरिदिन माग गरेका छन् । राजनीतिक दलदलमा फसेको हरिपूर्वा नगरपालिकाले गएको असारमै गर्नुपर्ने नगरसभा अझै गर्न सकेको छैन् ।
नगर सभा नभएकाले यहाँ बजेट पारित नभएर तलब, भत्ता रोकिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्दा नगरसभा अन्यौलमा परेको छ ।
उपसचिव शम्भुप्रसाद यादव हरिपूर्वा नगरपालिकामा तीन पटक प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएपनि उनको तीन पटक नै अत्यन्त छोटो अवधिमै सरुवा भएको छ । गएको पुस ११ गते तेस्रो पटक सरुवा भएर आएपछि नगरसभाको तयारीमा जुटेका यादवको २२ दिनमै माघ ३ गते अन्यत्र सरुवा भएको थियो ।
सात महिनासम्म कुर्दा समेत तलब पाउने छाँट नदेखेपछि कर्मचारीले बाध्य भई कार्यालय बन्द गरी धर्ना सुरु गरेका हुन् । नगर कार्यपालिकाले नगरसभा नगर्दा र मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आफूहरुमाथि मानसिक पीडा र आर्थिक सङ्कट परेको कर्मचारीले गुनासो गरेका छन् ।
बजेट नचल्दा वडा, नगर, स्वास्थ्य संस्थालगायत सबै कार्यालयमा मसलन्दसहित अन्य आवश्यक सरसामग्री सक्किएर सेवा दिनै मुस्किल परेको कर्मचारीको भनाई छ । हरिपूर्वामा यसअघि शिक्षकहरु तलब माग गर्दै दुई सातासम्म विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा आइ धर्नामा बसेका थिए ।
नगरप्रमुखले तत्काल समस्या समाधान गरी रोकिएको तलब, भत्ता निकासा गर्ने आश्वासन दिएपनि माघ बित्दा समेत तलब हात परेको छैन् । यहाँ सामाजिक सुरक्षा भत्ता निकासाबारेको अन्यौलता हट्न सकेको छैन् ।
हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीले आफूले बल्लतल्ल सरुवा गरेर ल्याएको प्रमुख प्रशासकीय अधिकृतलाई टिक्न नदिने र नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएर आफूलाई बद्नाम गराउने काम भइरहेको गुनासो गर्दै अएका छन् । उनले सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं हालका खानेपानी मन्त्री महिन्द्रराय यादवको इसारामा हरिपूर्वा नगरपालिकालाई बन्धक बनाउने काम भएको आरोप लगाए ।
नगरपालिकालाई बन्धक बनाएर आफूलाई असफल गराउने खेलमा मन्त्री यादव लागेको नगरप्रमुख साहको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृत टिक्नै नदिएको र नयाँ पनि नपठाएको विषयमा मन्त्रालयमा बुझ्दा खानेपानी मन्त्रीको दबाब छ भन्ने जवाफ आउने गरेको नगरप्रमुख साहले बताए । मन्त्री यादवको घर पनि हरिपूर्वा नगरपालिकामै हो ।