logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अन्नपूर्ण चिनी मिल संचालन गर्न डोंगा पूजा, पहिला पुरानो बक्यौता दिन किसानको माग


  • उज्यालो अभियान

धनकौल, २९ माघ – सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल सन्चालनका लागि आज डोंगा पूजा गरिएको छ ।

उद्योगका सन्चालक रमेश श्रीवास्तवले अब किसानसँग उखु लिएर केही दिनभित्रै मिल सन्चालन गरिने जानकारी दिए । उनले तत्काल उखु क्रसिङ गर्ने तयारी भएपनि पहिलेका उद्योग मालिकले २०७४/०७५ को क्रसिङ सिजनकै उखुको भुक्तानी नदिएको भनी किसानले उद्योगमा आएर पुरानो बक्यौता पहिले चुक्ता गर्न माग गरेकाले आजैबाट छलफल सुरु गरेको बताए ।

उखु नै सक्किने बेला सन्चालनको तयारी गरिएको उद्योगले किसानबाट जे जति उखु प्राप्त हुन्छ, त्यति क्रसिङ गर्ने जनाएको छ । “यति नै परिमाणमा उखु पेल्ने भन्ने लक्ष्य त छैन तर किसानले जति उखु ल्याउँछन त्यो सबै क्रसिङ गरेर उद्योग बन्द गर्छौँ,” मिल सन्चालक श्रीवास्तवले भने ।

उखु किसानलाई वर्षौदेखिको भुक्तानी नदिएको भन्दै बद्नाम भएको यस चिनी उद्योग गत वर्ष पनि केही दिन मात्रै सन्चालन भइ थोरै परिमाणमा उखु क्रसिङ गरेर बन्द भएको थियो । रामनगर गाउँपालिका–७, सिसौटका उखु किसान अजयकुमार साहले धनकौल मिलबाट आफूले दुई लाख रुपैयाँ भन्दा बढी उखु बेचेको पुरानो बक्यौता पाउन बाँकी रहेको बताए ।

उनले पुरानो भुक्तानी दिएर मात्रै उद्योग सन्चालन गर्न आग्रह गरिरहेको बताए । “आज डोंगा पूजा हुँदा हामी पनि मिलमा पुगेर पुरानो पैसा दिएपछि मात्रै मिल चलाउनुस् भनेर फर्किएका छौँ,” साहले भने ।

धनकौल गाउँपालिका–२, चिनीमिल टोलका किसान रामकल्याण यादवले केही साता अघिनै मिल सन्चालनको तयारी भएपनि आफूहरुले उखु नदिएकै कारण मिल सन्चालनमा ढिलाई भएको बताए । उनले पहिलेको भुक्तानी नपाएसम्म उद्योगलाई उखु नदिने बताए ।

आज मिल संचालनबारे छलफलकै क्रममा किसानले मिलप्रति आक्रोश व्यक्त गर्दा केहीबेर असहज स्थिति सिर्जना भएको छ । वर्षौसम्म उखुको पैसा नपाएका किसानबाट मिल मालिकमाथि दुव्र्यवहार नै हुन पुगेको छ ।

अन्नपूर्णबाट अघिल्ला वर्षहरुको भुक्तानी पाइसकेका किसान भने उद्योगमा उखु बुझाउने तयारीमा छन् ।

अन्नपूर्ण चिनी उद्योग उखुको सिजन नै सक्किने बेला संचालनको तयारी भइरहे पनि महालक्ष्मी चिनी उद्योग बगदह र इन्दुशंकर चिनी उद्योग हरिवनले यसअघि देखि नै धमाधम उखु क्रसिङ गरिरहेका छन् ।