हरिपुर, २९ माघ – सर्लाहीको हरिपुरमा आजबाट छैठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हरिपुर नगरपालिका २ स्थित हात्तिसार खेल मैदानमा आयोजित प्रतियोगिताको संविधान सभाका सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरे । नगरप्रमुख गोपाल पन्जियारको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा संविधान सभाकी सदस्य रन्जना सरकार, नगर उपप्रमुख निलमदेवी राय यादव, सामाजिक विकास शाखाका अधिकृत रुपलाल देवकोटा, वडाध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।
भोलीसम्म चल्ने प्रतियोगितामा हरिपुर नगरभित्रका ६ वटा सामुदायिक र एउटा संस्थागत गरी ७ वटा विद्यालयले सहभागिता जनाएका छन् । सहभागी विद्यालयका विद्यार्थीबीच एथ्लेटिक्स, भलिबल, कबड्डीलगायत खेल विधामा प्रतिस्पर्धा गराइने हरिपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर रायले जानकारी दिए ।
सर्लाहीमा यसअघि हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका तथा विष्णु गाउँपालिकाले आ–आफ्नो पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराइसकेका छन् ।