बागमती, २८ माघ – सर्लाहीको उत्तरी भेगका तीन पालिकामा आज स्थानीय सार्वजनिक बिदा दिइएको छ ।
तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री सम्वत् २८६० डुक÷मु पुर्खी ल्हो (गरुड वर्ग) सोनाम ल्होछारको अवसरमा लालबन्दी, हरिवन र बागमती नगरपालिकाले आज आइतबार आ–आफ्नो पालिकाभित्र स्थानीय बिदा दिएका हुन् । यि तीनै पालिकामा आज नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र मातहतका अन्य कार्यालयहरु बन्द रहने छन् ।
आज सामुदायिक विद्यालय तथा निजी बोडिङ स्कुलमा पनि बिदा दिइएको नगरपालिकाहरुले सूचना जारी गरेर जानकारी दिएका छन् । सोनाम ल्होछार पर्व हिजै परेको थियो । हिजो शनिबार त्यसै पनि सार्वजनिक बिदा रहेकाले आज थप एक दिन बिदा दिइएको पालिकाहरुले बताएका छन् ।
सोनाम ल्होछारको अवसरमा आज बागमती नगरपालिका १२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम राखिएको आयोजकका रोशन लामाले जानकारी दिए । कार्यक्रममा तामाङ राष्ट्रिय कलाकारहरुको प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।