मलंगवा, २८ माघ – सर्लाहीको दक्षिणी भेगमा अहिले बाक्लो हुस्सु लागिरहेको छ ।
सदरमुकाम मलंगवासहित दक्षिणी भेगका गोडैता, बलरा, पर्सा, हरिपूर्वा, ब्रम्हपुरी, कविलासीलगायत क्षेत्रमा बाक्लो मात्रामा हुस्सु लागेर ठिर्याउँदो चिसो भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको उत्तरी चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका रानिगन्ज, लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत क्षेत्रमा भने पातलो मात्रामा हुस्सुकै बिच घाम लाग्न थालेको छ ।
उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा ढिलो गरी मौसम उघ्रिने गरेको छ । दक्षिणी भेगमा हिजोको तुलनामा आज बढी नै हुस्सु लागेको र नजिकैको दृश्य समेत प्रष्टसँग नदेखिएको स्थानीयले बताएका छन् ।
यस्तो बेला भिजिबिलिट कम भई सवारी दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानीका साथ हिँड्डुल गर्न तथा सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ ।
आज बिहान ७ बजे सर्लाहीको अधिकतम तापक्रम १० डिग्री सेल्सीयस मापन भएको छ ।