हरिवन, २७ माघ – सर्लाहीमा पनि आज तामाङ समुदायको महान पर्व सोनाम ल्होछार पर्व धुमधामसँग मनाइएको छ ।
तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री सम्वत् २८६० डुक/मु पुर्खी ल्हो (गरुड वर्ग) सोनाम ल्होछारको अवसरमा तामाङ समुदायको बसोवास रहेको हरिवन, लालबन्दी, बागमती र ईश्वरपुरमा विभिन्न कार्यक्रम भएका छन् । तामाङ समाज घुर्कौलीको आयोजनमा हरिवन नगरपालिका ५ स्थित लखन्देही खोला किनारको चौरमा आज शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम संयोजक सिंहलाल योन्जनको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका कार्यवाहक नगरप्रमुख हरिमाया घलान, नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, हरिवन ५ का वडाध्यक्ष नागेन्द्र प्रसाद साह, हरिवन ३ का वडाध्यक्ष दीपमान लोप्चन, हरिवन ६ का वडाध्यक्ष सन्तलाल घिसिङ, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य जयमान पाख्रिन, घेदुङका सर्लाही अध्यक्ष वुद्ध लामा, मगर संघ मधेश प्रदेशका महासचिव तेजनारायण आले मगर, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेलगायतको उपस्थितिमा शुभकामना आदानप्रदानसहित भव्य साँस्कृतिक कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइएको हो ।
पर्वका अवसरमा आज जिल्लाभरका तामाङ गुम्बामा साँस्कृतिक कार्यक्रमहरु भएका हाम्रा संवाददाताले जनाएका छन् ।
ईश्वरपुर नगरपालिका २ स्थित मियाखोर वीरेन्द्र बजारमा आजबाट ३ दिने सोनाम ल्होछार मेला सुरु भएको छ । मेलाको नगरप्रमुख मनोजकुमार आचार्यले उद्घाटन गरेका छन् ।
आयोजकका नरबहादुर तामाङको अध्यक्षतामा आयोजित मेलाको उद्घाटन समारोहमा उपप्रमुख रन्जिता देवी चौधरी, निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटालगायतको आतिथ्यता रहेको थियो ।
मेलाको अवसरमा ख्याती कमाएका कुस्ती खेलाडी देवा थापालगायतको उपस्थितिमा कुस्ती खेल प्रतिस्पर्धा समेत आयोजना गरिएको छ ।
त्यस्तै भोली बागमतीस्थित निर्माणाधिन माछा पोखरी (भरत ताल) मा पनि भव्य कार्यक्रमको तयारी भइरहेको आयोजकका रोशन लामाले बताए ।