logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हुस्सु कम भएपनि झन बढी कठ्यांग्रिदो चिसो, तापक्रम ९ डिग्री सेल्सीयस


  • उज्यालो अभियान

हरिवन, २५ माघ – सर्लाहीमा हिजोको तुलनामा आज हुस्सु कम भएपनि चिसो भने झन बढेको छ ।

यहाँ हिजो बाक्लो हुस्सु र शितलहर धेरै नै चल्दा तापक्रम ११ डिग्री सेल्यीयस थियो । तर आज हिजोको तुलनामा हुस्सु कम भएपनि तापक्रम भने घटेकाले भित्री रुपमा कठ्यांग्रिदो चिसो भएको हो ।

आज बिहान ७ बजे सर्लाहीको अधिकतम तापक्रम ९ डिग्री सेल्सीयस मापन भएको छ । तापक्रम घटेकाले ठिर्याउँदो चिसो भएको हो । हिजोको तुलनामा हुस्सु केही कम लागेकाले आज भिजिबिलिट भने बढेको छ ।

उत्तरी चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रको मौसम हिजोको तुलनामा आज उघारो छ । दक्षिणी बेल्टमा भने हुस्सु लागिरहेको स्थानीयले बताएका छन् ।

सर्लाहीसहित तराई क्षेत्रमा विगत ३ दिनदिनदेखि बाक्लो हुस्सु र शितलहर फर्किएर फेरि जाडो हुन थालेको हो । विशेष गरी बिहानपखको जाडोले अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुसहित स्कुल जानुपर्ने विद्यार्थी, मजदुर, किसान, बिरामी, शिशु, वृद्धवृद्धा र अशक्त प्रभावित बनिरहेका छन् ।

न्यानो कपडा नभएका गरिबगुरुवा कठ्यांग्रिएर बस्न बाध्य छन् । हुस्सु र शितलहरले गोलभेँडा, आलु, खुर्सानी, कोबी जस्ता तरकारी बालीमा ठन्डीको संक्रमण देखिन थालेको किसानले बताएका छन् ।