सासापुर, २४ माघ – सर्लाहीमा आज पनि शितलहर र बाक्लो हुस्सुले जनजीवन अत्यन्त कष्टकर बनिरहेको छ ।
यहाँ हिजोदेखि शितलहर र बाक्लो हुस्सु दोहोरिएको हो । अहिले बिहानपख बाहिर निस्कँदा शितलहर र बाक्लो हुस्सुले भिज्ने अवस्था छ । अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुसहित स्कुल जानुपर्ने विद्यार्थी, मजदुर, किसान, बिरामी, शिशु, वृद्धवृद्धा र अशक्त प्रभावित बनिरहेका छन् ।
माघ १५ पछि हुस्सु र शितलहर रोकिएकोमा हिजोबाट फेरि एकाएक बाक्लो हुस्सु र शितलहर फर्किएर चिसो बढेको हो । आज बिहान ७ बजे सर्लाहीको अतिकतम तापक्रम ११ डिग्री सेल्सीयस मापन भएको छ । यो वर्ष पुससम्म सामान्य चिसो भएपनि माघ लागेपछि भने कठ्यांग्रिदो चिसो बढेको हो ।
चिकित्सकले अहिले धेरै मात्रामा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, कोल्ड डायरियाजस्ता चिसोजन्य संक्रमण बढिरहेकाले अत्यन्त सावधानी अपनाउन र न्यानो भएर सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । तर, न्यानो कपडा नभएका गरिबगुरुवा कठ्यांग्रिएर बस्न बाध्य छन् ।
चिसो फेरि बढेपछि दाउरा रहेका ठाउँका स्थानीय आगो बालेर तापिरहेका छन् भने दाउरा नभएका दक्षिणी भेगका स्थानीय परालको घुर बालेर तापिरहेका छन् । बाक्लो हुस्सु र शितलहरले गोलभेँडा, आलु, खुर्सानी, कोबी जस्ता तरकारी बालीमा ठन्डीको संक्रमण देखिन थालेको किसानले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले हुस्सु लागेर नजिकैको दृश्य देख्न समेत गाह्रो परिरहेकाले पैदलयात्रा गर्दा तथा सवारी साधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । हुस्सु धेरै लागेकाले सवारी साधनहरु दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।