logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

घाइतेलाई भेटेर फर्किएका सीडीओ धमला भन्छन–अवस्था सुधारोन्मुख पाइयो


  • उज्यालो अभियान

मलंगवा, २३ माघ – गएराति सर्लाहीको मलंगवा नगरपालिका–१०, गम्हरियामा भएको दुर्घटनाका घाइतेलाई आज जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारीसहितले कलैया र वीरगन्ज पुगेर भेट गरेका छन् ।

सबै घाइतेलाई आज दिउँसो जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, उपसभापति जीतेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलासहितका सुरक्षा प्रमुख लगायतले अस्पतालमा पुगेर भेट गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी धमलाले चिकित्सक र बिरामी स्वयंसँग कुरा गर्दा अवस्था सुधार हुँदै गएको पाइएको बताए । “घाइतेमध्ये टाउकोमा गहिरो चोट लागेका कार्यालयका अमिन बैजु यादवको अवस्था अली सिरियस देखियो, अरुको उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख नै देख्यौँ, सीडीओ धमलाले आज साँझ उज्यालो अभियानसँगको कुराकानीमा भने, “हामी हवाई उद्धार आवश्यक परे त्यसको समेत तयारीमा थियौँ, तर तत्काल गर्नुपर्ने देखिएन ।”

सीडीओ धमलाले नापी कार्यालयका प्रमुख मानन्धरलाई बाहिरी चोट लागेर अनुहार सुनिएको जस्तो देखिएपनि आफूहरुसँग सामान्य कुराकानी गरेका बताए । चिकित्सक र अस्पताललाई घाइतेको उपचारमा कुनै कमी नगर्न भनेर फर्किएको सीडीओ धमलाको भनाई छ । उनका अनुसार उपचाररत् घाइतेमध्ये १ जना चालक र अरु सबै नापी कार्यालयकै कर्मचारी हुन् ।

गएराति गम्हरिया गाउँदेखि थोरै उत्तर नवलपुर–मलंगवा सडक खण्डमा नापी कार्यालय मलंगवाका प्रमुखसहितका कर्मचारी चढेको गाडी डरलाग्दो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका कार्यालय सहयोगी बागमती नगरपालिका ११ कर्मैयाका विनोद घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ ।

कार्यालय प्रमुख (प्रमुख नापी अधिकृत) सन्जय मानन्धरसहित अन्य १० जना कलैया र वीरगन्जका तीनवटा अस्पतालमा उपचाररत् रहेका छन् । गएराति पौने ८ बजेतिर सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्वरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख काभे्रेको बनेपा नगरपालिका घर भएका ४५ वर्षीय सन्जय मानन्धर, महोत्तरीका ३० वर्षीय बैजु यादव, सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ३५ वर्षीय रामलाल साह, सर्लाहीको कौडेना गाउँपालिका–२, का २४ वर्षीय सन्जित मण्डल र महोत्तरीको एकडारा गाउँपालिका–२, का ३० वर्षीय रिटेन यादव घाइते भएका छन् ।

त्यस्तै सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका–७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीदनगर नगरपालिका–७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव पनि घाइते छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको एलएस न्यूरो अस्पताल कलैया, तीन जनाको नेशनल मेडिकल कलेज वीरगन्ज, एक जनाको बयोधा अस्पताल वीरगन्ज र एक जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार जारी छ ।

गएराति दुर्घटनापछि गाडीभित्रै च्यापिएका घाइतेलाई स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए । कर्मचारी सवार गाडी क्षतिग्रस्त छ । त्यो गाडी र उखु बोकेको ट्याक्टर जिल्ला प्रहरी कार्यालय मलंगवामा लगेर राखिएको छ ।

उखु बोकेको ट्याक्टरका चालक अझै सम्पर्कमा नआएका सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले उज्यालो अभियानसँग बताएका छन् । उन उखु बोकेको ट्याक्टर विष्णु गाउँपालिकाको मधुवनगोठतर्फबाट आएको पाइएको बताए ।

ट्याक्टरका सवारी धनीको पहिचान भइसकेको छ । तर, आज घरमा पुग्दा ट्याक्टरधनीको घरमा ताला लगाएको पाइएको प्रहरीले जनाएको छ ।

हिजोको दुर्घटनामा परेर एक कार्यालय सहयोगीको मृत्यु र कार्यालय प्रमुखसहित अधिकांश कर्मचारी घाइते भएपछि नापी कार्यालय मलङ्गवा आज दिनभर सुनसान देखिन्थ्यो ।