सागरनाथ – सर्लाहीको ईश्वरपुरमा आयोजित नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्णसहित सागरनाथ माध्यमिक विद्यालय पहिलो भएको छ ।
ईश्वरपुर नगरपालिका ४ स्थित सोही विद्यालयमा आयोजित प्रतियोगितामा आठ स्वर्णसहित ईश्वरपुर बेला माध्यमिक विद्यालय ईश्वरपुर ९ दोस्रो र सात स्वर्णसहित लालिगुराँस आवासीय माध्यमिक विद्यालय ईश्वरपुर ६ तेस्रो भएका छन् । प्रतियोगितामा ईश्वरपुर नगरपालिकाभित्र रहेका सामुदायिक र निजी गरी १२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
ईश्वरपुर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिामा निजी विद्यालयलाई पनि सहभागी गराउने गरेको छ । सहभागी विद्यालयका विद्यार्थीबीच विभिन्न दुरीका दौड, हाइजम्प, त्रिपलजम्प, लङजम्प, ज्याब्लिङ थ्रो, सटफुट, कबड्डी र भलिबल खेलमा प्रतिस्पर्धा गराइएको आयोजक समितिका सदस्य एवं नारायण माध्यमिक विद्यालयका शिक्षक नाथुराम चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई कप, मेडल र प्रमाण–पत्र प्रदान गरी पुरस्कृत गरिएको छ ।
नगरप्रमुख मनोजकुमार आचार्य, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, शिक्षा शाखाका प्रमुख (उपसचिव) हरि दाहाललगायतले पुरस्कार वितरण गरेका ईश्वरपुर नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाले जनाएको छ ।