मलंगवा – आज साँझपख सर्लाहीमा पनि केहीबेर पानी छिट्याएको छ ।
यहाँको मौसम बिहानैदेखि बदली भइरहेको थियो । सूर्योदय हुँदा देखि नै पानी पर्ला जस्तो भएर मौसम धुम्म भइरहेकोमा साँझपख केहीबेर पानी छिट्याएको हो ।
घाम नलागी आज दिनभर नै सर्लाहीको मौसम धुम्म भएर बित्यो । यहाँ माघ १५ पछि चिसो भने कम हुन थालेको छ । माघ पहिलो र दोस्रो हप्तासर्लाहीसहित तराई क्षेत्रका स्थानीयले यो वर्ष शितलहर र अत्यन्त कठ्यांग्रिदो चिसो खेपे ।
उता काठमाडौं उपत्यकामा आज दिउँसो छिटपुट वर्षा भएको छ । पश्चिमी वायूसँगै आउने न्यून चापीय प्रणालीले गर्दा छिटपुट वर्षा भएको हो ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ । उच्च हिमाली भेगमा भने हिमपात भएको छ ।
सोमबार साँझदेखि मौसममा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।