मलंगवा – सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित जिल्ला स्तरीय टी–ट्वान्टी शहीद कप क्रिकेट प्रतियोगिताको उपाधि मलङ्गवा नगरपालिकाले जितेको छ ।
मलङ्गवा १० स्थित तिनबिघे मैदानमा आज सम्पन्न फाइनल खेलमा गोडैता नगरपालिकालाई पाँच रनले स्तब्ध पार्दै मलङ्गवा नगरपालिका च्याम्पियन बनेको हो । प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको मलङ्गवाले २० ओभर खेल्दै १० विकेटको क्षतिमा १३० रन बनायो ।
१३१ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गोडैता नगरपालिकाले नौ विकेटको क्षतिमा अलआउट हुँदै १२५ रन मात्रै बनाउन सक्यो । जितसँगै बिजेता मलङ्गवा नगरपालिकाले एक लाख रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
उपबिजेता गोडैता नगरपालिकाले भने ५० हजार रुपियाँमा चित्त बुझाएको छ । प्रतियोगिताको वेष्ट ब्याट्सम्यान बसबरियाका रामप्रित महतो, बेष्ट वलर बलराका नवलकिशोर राम, बेष्ट फिल्डर विष्णुका सारु खान, वेष्ट किपर गोडैताका अमित महतो, इमर्जिङ प्लेयर मलङ्गवाका अली हसन, म्यान अफ द सिरिज गोडैताका प्रेमशङ्कर मण्डल बनेका छन् ।
प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई आयोजक समितिका अध्यक्ष गणेशकुमार यादवको अध्यक्षता तथा मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको छ ।
पुस २० गतेदेखि सुरु भएको यस प्रतियोगितामा सर्लाहीका २० मध्ये १४ वटा पालिकाले सहभागिता जनाएका थिए ।