लालबन्दी – सर्लाहीसहित तराई क्षेत्रमा चिसो क्रमिक रुपमा घट्दै गएको छ ।
यहाँ माघ १५ पछि शितलहर रोकिएको छ । बिहान–बेलुका र रातको समयमा चिसो भएपनि दिनभर पारिलो घाम लागेर न्यानो पस्न थालेको हो ।
१४/१५ दिन घाम नलागेर लगातार शितलहर खेपेका यहाँका स्थानीयले अहिले भने दिउँसोपख ताता घाम लाग्दा राहत महशुस गर्न थालेका छन् । शितलहर चल्दा बिहान सबेरै जिल्लाको तापक्रम ८/९ डिग्री सेल्सीयसको आसपास हुन्थ्यो । अहिले भने तापक्रम पनि बढ्न थालेको छ ।
विगत ३/४ दिनदेखि बिहान ७ बजेतिर जिल्लाको तापक्रम १२/१३ डिग्री सेल्सीयसको हाराहारीमा रहने गरेको छ । चिसो कम भएसँगै मानिस आ–आफ्नो नियमित काममा लाग्न थालेका छन् ।
२४ सैँ घण्टा कठ्यांग्रिदो चिसोले गरिबगुरुवा र अतिविपन्न परिवारलाई सकस परिरहेको थियो । उनीहरुलाई अहिले दिनभरको पारिलो घामले न्यानो दिएको छ ।
तराई क्षेत्रमा बाक्लो मात्रामा हुस्सु समेत लाग्न छाडेपछि सडक यातायात तथा हवाई उडान नियमित हुन थालिसकेका छन् ।