logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा अब अनुचित लेनदेनको निवेदन प्रहरीले हेर्ने


  • उज्यालो अभियान

मलंगवा – अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी निवेदन अब जिल्ला प्रहरी कार्यालयले हेर्ने भएको छ ।

अनुचित लेनदेनका सम्पूर्ण निवेदन आज जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालयले हेर्दै आइरहेको अनुचित लेनदेनको निवेदन पछ्र्यौट गर्ने जिम्मेवारी अब प्रहरीलाई दिने सरकारले नै निर्णय गरेको छ ।

सोही निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी प्रमुख प्रवीण धिताललाई अनुचित लेनदेन सम्वन्धी फाइल र निवेदन हस्तान्तरण गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे, जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल, मिटरब्याज पीडित सङ्घर्ष समिति सर्लाहीकी संयोजक रुक्मिणी चौधरी समेतको उपस्थितिमा सीडीओ धमलाले एसपी धिताललाई अनुचित लेनदेनको सहमती भई पछ्र्यौट भइसकेका तथा सहमती हुन बाँकी निवेदन हस्तान्तरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अनुचित लेनदेन छानविन आयोग गठन हुँदा बखत कार्यालयमा एक हजार ९२०, छुटफुट निवेदन लिने सूचना जारी पश्चात ३९९ र आयोगबाट अनलाइन प्राप्त दुई हजार १३७ समेत गरी चार हजार ४५६ उजुरी प्राप्त भएका छन् । ती उजुरीमध्ये आयोग गठन पूर्वका २७ सहमती समेत गरी ६४१ उजुरी सहमती गराई फछ्र्यौट भएका छन् ।

तीन हजार ८१५ उजुरी फछ्र्यौट हुन बाँकी छ । ती उजुरीका सम्वन्धमा अब पीडित र पीडक दुवैलाई प्रहरीले कार्यालयमा बोलाएर छलफल गराउने छ ।