logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सुधारिँदै नगर अस्पताल, उपचार गर्न आउने बिरामी बढे


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी नगरपालिकाको मातहतमा रहेको नगर अस्पताल लालबन्दी पछिल्ला दिनमा सुधारिँदै गएको छ ।

अस्पतालमा उपचारका लागि आउने बिरामीको बढ्दो सङ्ख्याले पनि अस्पतालको अवस्था सुध्रिदैँ गएको पुष्टी गर्छ । अस्पतालमा अहिले दैनिक एक सयको हाराहारीमा बिरामीहरु उपचार गर्न आउने गरेका अस्पतालका प्रमुख डा. रामविश्वास रायले जानकारी दिए ।

उपचारका लागि आउने बिरामीमध्ये आधाजसो स्वास्थ्य बीमा गरेका बिरामी हुन्छन् । अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ नियुक्त भएसँगै प्रसुतितर्फ पनि चाप बढ्न थालेको छ ।

अस्पतालका प्रमुख एवं प्रसुति रोग विशेषज्ञ डा. रायका अनुसार अस्पतालमा मासिक ३० देखि ३५ जना गर्भवती प्रसुतिका लागि आउने गरेका छन् । अस्पतालमा केही साताभित्रै प्रसुतितर्फ शल्यक्रिया (अप्रेसन) सेवा समेत सुरु गर्ने तयारी गरिएको छ ।

“अप्रेसन सेवा सुरु गर्न जनशक्तिको व्यवस्था भइसकेको छ,” डा. रायले भने, “अब केही औजार, उपकरण जुट्ने बित्तिकै सीएस सेवा पनि सुरु गर्दैछौँ ।” डा. रायले विशेषज्ञ चिकित्सकबाट सेवा पाउन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको दावी गरे ।

“पहिले भन्दा सेवामा सुधार गरिएको र डा. पनि थपिएकाले बिरामी बढ्नु भएको हो,” डा. रायले भने, “रङ्गरोगन र मर्मत सम्भार गरेर अस्पताललाई पनि चिटिक्क पारेका छौँ ।”

गएको पुस २७ गते प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगर अस्पताल लालबन्दी बनाइएको थियो । अस्पताललाई १५ शय्याको बनाउने काम अन्तिम चरणमा पुगेको लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले बताए ।

“अस्पतालको अवस्था पहिले भन्दा धेरै नै सुधारेका छौँ, अब हामी अप्रेसन बेड र ओटी लाइटको व्यवस्थापन हुनासाथ प्रसुतितर्फ अप्रेसन सेवा सुरु गर्दैछौँ,” स्वास्थ्य शाखाका सह–संयोजक खतिवडाले भने, “अप्रेसन थिएटर संचालन गर्न हामीसँग दक्ष जनशक्तिहरु तयार भइसकेका छन् ।”

लालबन्दी नगरपालिकाले भर्खरै फार्मेसिस्ट, रेडियोग्राफरलगायत आवश्यक स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।

पूर्व–पश्चिम राजमार्गमा रहेको नगर अस्पताल लालबन्दीलाई यस क्षेत्रको सुविधा सम्पन्न र व्यवस्थित अस्पताल बनाउनुपर्ने आवाज बारम्बार उठ्ने गरेको छ । यहाँका निजी अस्पतालहरुमा अत्यन्त महँगो शुल्क हुँदा विशेष गरी विपन्न वर्गका बिरामीलाई औषधि उपचार गर्नै समस्या पर्ने गरेकाले नगर अस्पताललाई व्यवस्थित बनाउनुपर्ने आवाज अस्पताल स्तरोन्नति घोषणा समारोहमा पनि उठेको थियो ।

अस्पतालमा लालबन्दीसहित आसपासका पालिकाबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।