नवलपुर – सर्लाहीमा पनि आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरिएको छ ।
कांग्रेसले आजबाट सर्लाहीसहित देशैभर माघ २६ गतेसम्मका लागि यो अभियानको सुरुवात गरेको हो । अभियानका लागि पार्टीका केन्द्रीय सदस्य गणेश लामालाई सर्लाहीमा प्रतिनिधि बनाएर पठाइएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।
लामाकै प्रमुख आतिथ्यतामा आज लालबन्दी २ को कार्य समितिले पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आयोजना गरेको ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन कार्यक्रममा कांग्रेसका जिल्लास्थित शिर्षस्त नेताहरु सहभागी भएका छन् । वडा सभापति नेत्रबहादुर दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सचिव कार्की, कांग्रेसका पुराना नेता बासुदेवशरण कोइराला, रामप्रसाद मैनाली, दीपक अधिकारी, सीताराम दाहाल, कांग्रेस नेता एवं लालबन्दीका मेयर बासुदेव अधिकारी, रामशरण उप्रेती, सुरेन्द्रकुमार न्यौपाने, भवानी कोइराला, रामबाबु साहलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य लामाले आश्रमलाई व्यक्तिगत तर्फबाट ५ हजार नगद सहयोग गरेका छन् । अभियानको शुभारम्भका दिन आज जिल्लाभर अधिकांशजसो वडा समितिले विभिन्न कार्यक्रम गरेका कांग्रेस सर्लाहीले जनाएको छ ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी सडक हुँदै कांग्रेस महामन्त्री गगनकुमार थापा माघ १८ गते सर्लाही आइपुग्दै छन् । थापाको उपस्थितिमा पर्सा, मलंगवा र धनकौलमा कार्यक्रम हुने जिल्ला सचिव कार्कीले बताए ।
समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भइ पालिकाबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी कांग्रेसले यो अभियान संचालन गरेको जनाएको छ ।