बयलवास, १४ माघ – सर्लाहीको ईश्वरपुर नगरपालिकामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क आँखा चेकजाँच गर्न सुरु गरिएको छ ।
आज वडा नं. १ का विद्यालयबाट यो कार्यक्रमको शुभारम्भ गरिएको हो । अब क्रमशः वडा नं. १५ सम्मका विद्यालयका विद्यार्थीलाई नगर अस्पताल बयलवासमा संचालित आँखा उपचार केन्द्रमा ल्याएर आँखा चेकजाँचसहित चश्माको आवश्यकता पर्ने विद्यार्थीलाई चश्मा समेत वितरण गर्ने ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
ईश्वरपुरका १ देखि १५ सम्म वडाका ३८ वटा सामुदायिक विद्यालयमा करिव १५ हजार बालबालिका अध्ययनरत् रहेका र उनीहरुको आँखा जाँच गर्ने उद्देश्य रहेको शिक्षा शाखाका प्रमुख हरि दाहालले बताए । ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति संघ (भरतपुर आँखा अस्पताल), आँखा उपचार केन्द्र र नेपाल आरोग्य संगठनसँग सहकार्य गरी विद्यार्थीको निःशुल्क आँखा परीक्षण कार्यको सुरुवात गरेको हो ।
सबै विद्यालयमा विद्यार्थीको प्राथमिक आँखा जाँच गर्न नगरपालिकाले गएको पुस १३ गते विद्यालयका प्रतिनिधि शिक्षकलाई बोलाएर प्राथमिक तालिम दिएर पठाएको थियो ।
आँखा शिविरको उद्घाटन कार्यक्रममा मेयर मनोजकुमार आचार्य, उपमेयर रन्जितादेवी चौधरी, शिक्षा शाखा प्रमुख दाहाल, स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतो, नगर अस्पताल बयलावसका डा. दिर्गनारायण दास, ईश्वरपुर आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीलगायतको उपस्थिति रहेको थियो ।