logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा बाहिर निस्कँदा भिज्ने गरी शितलहर र बाक्लो हुस्सु, तापक्रम ८ डिग्री सेल्सीयस


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा बाहिर निस्कँदा भिज्ने गरी शितलहर चलिरहेको छ ।

बाक्लो हुस्सु पनि लागिरहेकाले ५० मिटर अगाडिको दृश्य समेत प्रष्टसँग देखिएको छैन् । शितलहर र बाक्लो हुुस्सुका कारण यहाँ अत्यधिक कठ्यांग्रिदो चिसो छ ।

सर्लाहीमा आज यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ७ बजे यहाँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सीयस मापन भएको हो ।

कठ्यांग्रिदो चिसोले गरिब र अतिविपन्न परिवार असाध्य प्रभावित बनिरहेका छन् । न्याना कपडा नभएका परिवारका शिशु, वृद्धवृद्धा र अन्य व्यक्ति चिसोमा कठ्यांग्रिएर बसिरहेका छन् । उनीहरुलाई न्यानो प्रदान गर्न गाउँपालिका÷नगरपालिका र अन्य निकायले चासो देखाएका छैनन् ।

अधिकांश घर, चोक, बजारमा आगो बालेर तापिरहेका छन् । यो वर्ष माघ लागेदेखि तराई मधेशमा ठिर्याउँदो जाडो झनै बढेको हो । चिसो अत्यधिक हुँदा विद्यालय जाने बालबालिका लगलग काम्दै विद्यालय जान बाध्य छन् ।

चिसो बिदापछि यहाँका विद्यालयहरु खुलिसकेका छन् । तर, चिसो भने झनझन बढेको छ । चिकित्सकले शितलहर चलेका बेला घरमै न्यानो भएर बस्न, ताता र ताजा खानेकुरा खान, अत्यावश्यक काम परेर बाहिर निस्कँदा शितलहरबाट जोगिने उपाय अपनाउन सुझाव दिँदै आएका छन् ।

चिसोका कारण अधिकांशमा नाक बन्द हुने, घाँटी दुख्ने, रुघा, खोकी, ज्वरोजस्ता चिसोजन्य संक्रमण देखिन थालेको छ ।

शितलहरबाट किसानलाई बालीनाली, पशुचौपाय र पंक्षी जोगाउन मुस्किल परेको छ । दिनभर मजदुरी गरेर पेट पाल्ने मजदुर परिवारलाई बिहान–बेलुकाको छाक टार्न चिसोले अप्ठेरो पारिरहेको छ ।