हरिवन – सर्लाहीको हरिवनमा आफ्नै विद्यार्थीलाई जवरजस्ती करणीको प्रयास गर्ने एक शिक्षक पक्राउ परेका छन् ।
१४ वर्षीया एक छात्रालाई उनकै घरमा पुगेर करणीको प्रयास गर्ने हरिवन नगरपालिका–११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन् । कार्कीले हरिवन नगरपालिका–१०, सुखेपोखरीस्थित मोडल युरिका एकेडेमीमा अध्यापन गराउँथे ।
कार्कीले गएको बुधबार मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला एक्कासी घरमै पुगेर जवरजस्ती करणीको प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरिन् ।
किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिए लगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
विद्यार्थीका अनुसार कार्कीले कक्षाकोठामा पनि छात्राहरुलाई ‘ब्याक टच’ गर्ने गर्थे ।
कार्कीलाई सर्लाही जिल्ला अदालतबाट हिजो बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।