मलंगवा – सर्लाहीमा आज पनि बाक्लो हुस्सु लागेर अत्यधिक चिसो छ ।
केही दिनदेखि बढेको अत्यन्त कठ्यांग्रिदो चिसोले जनजीवन कष्टकर बनिरहेको छ । रातदिन ठिर्याउँदो चिसो हुँदा जनजीवन प्रभावित बनिरहेको हो ।
दिउँसोपख समेत घाम नलाग्दा ठिर्याउँदो चिसो हट्न सकेको छैन । निरन्तरको ठिर्याउँदो जाडोले मानिस, पशुचौपाय, पन्छी सबै प्रभावित बनिरहेका छन् । बाक्लो हुस्सु र शितलहर जारी रहँदा मानिसहरुलाई घरबाहिर निस्कनै गाह्रो परिरहेको छ ।
किसान र मजदुरले लगलग कामेरै मजदुरी गरिरहेका छन् । चिसो छल्न मानिसहरु घर, चोक, बजारमा आगो बालेर ताप्ने गरेका छन् ।
शिशु, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्ति चिसोबाट ज्यादा प्रभावित बनेका छन् । तराई क्षेत्रमा पुस मध्यसम्म चिसो कम नै थियो । तर पुस अन्तिम र माघ लागेपछि भने असाध्य ठिर्याउँदो चिसो भइरहेको हो ।
यहाँको न्यूनतप तापक्रम बढ्न सकेको छैन् । आज बिहान ६ बजे सर्लाहीको तापक्रम ९ डिग्री सेल्सीयस मापन भएको छ । प्राय ः बिहानपख तापक्रम यसै सेरोफेरोमा रहन्छ ।
कठ्यांग्रिदो चिसोले घाँटी दुख्ने, रुघा, खोकीजस्ता चिसोजन्य संक्रमण बढेको चिकित्सकले बताएका छन् ।
चिसोबाट जोगिन बाक्लो हुस्सु लागेको बेला घरभित्रै बस्न, अत्यावश्यक काम परेर बाहिर निस्कँदा चिसोबाट जोगिने उपाय अपनाउन, न्याना कपडा लगाउन, ताजा, ताता र पौष्टिकयुक्त खानेकुरा पर्याप्त खान चिकित्सकको सुझाव छ ।
तर, मजदुरी गरेर पेट पाल्ने मुसहर, डोम, चमारसहित अति विपन्न र पिछडिएको दलित परिवारलाई न्याना कपडा र खानेकुराकै अभाव छ ।
बाक्लो हुस्सु लागेकाले सवारी साधनहरु दिउँसै पनि बत्ती बालेर गुड्ने गरेका छन् ।